राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक: राष्ट्रपति पौडेल

110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभयो । उहाँले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावि पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको बताउनुभयो । उहाँले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गर्नुभयो ।

उहाँले प्रतिक सहितको गणेशमान पार्कले उहाँको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताउनुभयो । राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गर्नुभयो । उहाँले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।