देशमा राष्ट्रिय एकता कायम गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको भनाइ

122 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले मार्गदर्शन गरेका मुलभुत विषय र मर्मलाई समातेर कार्यान्वयनको पक्षमा जानुपर्ने बताउनुभएको छ ।

अहिलेको राष्ट्रको आवश्यकतालाई व्यवस्थापन गर्नेगरी नेपालको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक साथै भौगोलिक विविधताले पनि भरिपूर्ण भएकाले स्नेह, सद्भाव र सहिष्णुतालाई ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले समाजमा अराजक गतिविधि बढ्न थालेको उल्लेख गर्दै यो देशकै लागि समस्याको विषय बनेको बताउनु भयो ।

उहाँले देशमा युवाशक्तिको पलायन बढीरहेको भन्दै यस्ता समस्यालाई समाधान गर्न पहल, प्रयत्न र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले देशको राष्ट्रिय अर्थतन्त्र कमजोर भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा प्रणालीमा भएका कतिपय कमजोरीका कारणले पनि समस्या निम्त्याइरहेको बताउनु भयो । उहाँले सुशासनमा सत्तारुढ दलहरुको उदासिनता र ठूला राजनीतिक दलहरुले गर्नुपर्ने काम कमजोर रहेको भन्दै यस्ता समस्या समाधानका लागि सबैबीच एकता आवश्यक भएको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक अस्थिरताका कारणले पनि मुलुकमा केही समस्या देखापरेको र केही स्वार्थ समूहहरु पनि अस्थिरता निम्त्याउन हाबी भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय हीत, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर नेपालका जिम्मेवार राजनीतिक दलहरु, मुलधारका राजनीतिक दलहरु अघि बढ्ने हो भने कुनैपनि समस्या हल गर्न सकिने जिकिर गर्नुभयो ।