काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ ।
संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभएको हो ।
द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ ।
उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गर्नुभएको छ ।