भ्रष्टाचार विरोधी र सुशासनको अभियान सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा: गृहमन्त्री श्रेष्ठ

113 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गर्नुभएको छ ।

नेपाल बुद्धिजीवी सङ्गठनले आज बिहीवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताउनुभयो ।

राजनीतिक प्रणालीमाथि खतरा निम्तिने कुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने उहाँको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ कि सकिँदैन भन्ने नभई बनाएरै छोड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब तैँ चुप मै चुप भएर यथास्थिति कायम गर्ने प्रक्रियाले देश बन्न नसक्ने भन्दै देश बरबाद हुन दिन नसकिने उल्लेख गर्नुभयो ।