अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट प्रयास आवश्यक: पुष्कर
132 पटक पढिएको
काठमाण्डौ – नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
आज बिहीवार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गर्नुभयो ।
‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु’, पुष्करले भन्नुभयो, ‘राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौँ भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ ।’
अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट चुनौतीहरू देखापरेको उल्लेख गर्दै उहाँले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताउनुभयो ।
‘अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन् । पुँजी बजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘चुनौतीहरू बेलाबेलामा आइरहन्छन् । तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ ।’ वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।
अर्थसचिव पुष्करले यसअघि पनि अर्थ मन्त्रालयमा राजस्व सचिव र अर्थसचिवका रूपमा काम गरिसक्नुभएको छ । अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उहाँको भनाइ छ । अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मेहनतका साथ काम गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
‘हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिमवर्क’ बाट हो । सबै साथीहरूमा कामप्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु’, उहाँले भन्नुभयो, ‘तपाईँहरूले व्यावसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’ रासस