शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको भनाइ

100 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताउनुभएको छ ।

आज बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता९२०६३० कार्यान्वयनका १७ वर्ष स् उपलब्धि, चुनौति र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैँ सक्षम भएर टुंगोमा पुर्‍याउनुपर्ने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले पीडितहरुसँग समेत छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको बिषय टुंगिनुपर्नेमा जोड दिनुभयो । नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर प्रक्रिया टुंगोमा पुर्‍याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले पुरानो घाउलाई बल्झाइरहनु नहुने भन्दै अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न लाग्नुपर्ने बताउनुभयो ।