रुवीभ्यालीको नाममा उच्च अदालतको अन्तरिम आदेश, शिक्षक निलम्बन निर्णय कार्यान्वयन नगर्नु

344 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ असोज । धादिङको रुबिभ्याली गाउँपालिकाले मुक्रावदेबी मा बि को व्यवस्थापन समितिका अध्यक्ष मनिष तामाङ,प्रधानाध्यापक तिर्थराज सुवेदी र शिक्षक ऋषिराम खनाललाई निलम्बन गर्ने गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ मा रहेको मुक्रावदेवी मावि व्यवस्थापन समितिका अध्यक्ष मनिष तामाङ,प्रधानाध्यापक तिर्थराज सुवेदी र शिक्षक ऋषिराम खनाललाई निलम्बन गरिएको जानकारी दिंदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडाले हस्ताक्षर गरी २०८० भदौ २० गते पत्र जारी गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत खतिवडाले हस्ताक्षर गरि जारी गरेको सोही पत्रमा उल्लेखित व्यहोरा खारेजीको माग गर्दै तामाङ, सुवेदी र खनालले उच्च अदालत पाटन ललितपुरमा रिट दायर गरेका थिए ।
उच्च अदालत पाटनका इजलास नम्बर ५ का न्यायधिश किरण कुमार पोखरेलको एकल इजलासले भदौ २९ गते विपक्षी रुवीभ्याली गाउँपालिकालाई २०८०÷५÷२० मा गाउँपालिकाले जारी गरेको चलानी नम्बर १९५ को तिर्थराज सुवेदी, चलानी नम्बर १९६ को ऋषिराम खनाल र चलानी नम्बर १९७ को मनिष तामाङको नाममा जारी गरिएको पत्र अनुसारको निलम्बन कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी भएको हो ।
न्यायधिश पोखरेलको आदेशमा भनिएको छ‘ शिक्षा नियमावली २०५९ तथा रुवीभ्याली गाउँपालिका बिद्यालय सञ्चालन कार्यविधि २०७६ को कानूनी व्यवस्थाको अनुकुल नरहेको देखिएको अबस्था हुँदा उक्त पत्रहरु हाल कार्यान्वयन नगर्नु नगराउनु भनि विपक्षीहरुका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम अल्पकालिन अन्तरिमआदेश जारी गरिएको छ ।’
अदालतले अल्पकालिन आदेशलाई कार्यान्यन दिने नदिने सम्वन्धमा छलफल गर्न विपक्षीहरुलाई असोज ७ गते आईतबार अदालतमा उपस्थित हुन पेशी तोकेको छ ।
रुवी भ्याली गाउँपालिकाको १३औं २०८० असार १० गते आयोजित गाउँसभामा झडप भएको थियो । बिद्यालयका प्राथमिक शिक्षक उत्तमलाल तामाङलाई गाउँपालिकामा श्रोत शिक्षकका रुपमा सरुवा गरेको, बिद्यालयको खाता रोक्का गरी तलव भत्ता निकासा रोकेको, सरुवा भएका शिक्षकको ठाउँमा अर्को शिक्षकको व्यवस्था नगरेको बिषयमा  गाउँसभामा ज्ञापन पत्र बुझाउन गएका वि.व्य.स.का पदाधिकारी र शिक्षकमाथि हमला भएपछि गाउँ सभामा झडपको स्थिति बनेको थियो । विद्यालयमा पढाइरहेका शिक्षकलाई गाउँपालिकाले स्रोतव्यक्ति नियुक्त गरेको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि सभा भित्र विवाद बढ्दैगर्ई झडप र तोडफोडको अवस्था सिर्जना भएको थियो ।
गाउँसभा भइरहेको मञ्चमा तोडफोड भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएर गाउँसभा पुनः सञ्चालन गरिएको थियो । सोही तोडफोडमा संलग्न रहेको आरोप लगाउँदै गाउँपालिकाले मुक्रावदेवीमा वि.व्य.स. अध्यक्ष तामाङ, प्रधानाध्यापक सुवेदी र शिक्षक खनाललाई जिल्ला अदालत धादिङमा अपराधिक उपद्रव मुद्धा लगाउनुका साथै जिम्मेवारीबाट निलम्वन गरेको पत्र जारी गरेपछि तामाङ, सुवेदी र खनाल न्याय खोज्दै उच्च अदालत पाटन गएका थिए । निलम्बन कार्यान्वयन नगर्न र नगराउन गाउँपालिका समेतका नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।