शिक्षकको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने माधव नेपालको भनाइ

129 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

आज शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले सो जिम्मेवारी पूरा गर्न सक्नेमा आशंका व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिमा भन्दा आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताउनुभयो । यद्यपी संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उहाँको भनाई छ । वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुराहरुलाई सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले देशमा संकटको बादलहरु मडारिएको बताउनुभयो । उहाँले गठबन्धनमा आवद्ध पार्टी र नेताहरु अनुभवि रहेका भन्दै नेताहरु एक ठाउँमा बसेर छलफल गरेमा समस्यामा समाधान निकाल्न सक्ने बताउनुभयो । उहाँले देशको समस्याको समाधान सबैभन्दा बढी कम्युनिष्ट पार्टीले मात्र दिनसक्ने उल्लेख गर्नुभयो । कम्युनिस्ट पार्टीसँग वैज्ञानिक दृष्टिकोण भएको कारण समस्याको समाधान गर्नसक्ने उहाँको भनाई छ ।