प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण: कोरला नाका खुलाउन मुस्ताङीको माग

82 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक हप्ता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय फेरि चर्चामा आएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो ।

नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमानाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ । नाकासम्म नै सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगाह, सुरक्षा पोस्ट, भन्सारलगायतको सम्पूर्ण तयारी गरिसकेको छ ।

कोरला नाका सञ्चालनको लागि चीनले सबै तयारी पूरा गरेको र नेपाल पक्षबाट समेत तयारी सँगसँगै सुरक्षा संवेदनशीलताको ‘ग्यारेन्टी’ चाहेको मुस्ताङका प्रदेशसभा सदस्य नाम्डु गुरुङले बताउनुभयो । चीनले नाका सञ्चालनको सबै तयारी पूरा गरेकाले गण्डकी प्रदेशको आर्थिक विकासको ‘लाइफ लाइन’ मानिएको कोरला नाका सञ्चालनको लागि प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा सम्झौता हुनसक्ने आशा पलाएको उहाँले बताउनुभयो ।

‘यो नाका पारवहन र पर्यटन दुवै दृष्टिकोणमा महत्त्वपूर्ण छ । नाका सञ्चालनमा ल्याउन सकेमा अन्तरदेशीय व्यापार र धार्मिक पर्यटनको ओहोर–दोहोर शुरु हुन्छ । समग्रमा मुस्ताङ र गण्डकी प्रदेशको विकासमा यो नाकाले भूमिका खेल्छ । हामीले प्रदेश सरकार र प्रदेशसभामा यो विषयमा निरन्तर आवाज उठाउँदै आएका छौँ । सङ्घीय सरकारलाई समेत यो विषय जानकारीमै छ’, गुरुङले भन्नुभयो ।

उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर मात्रै सीमा क्षेत्रमा नेपालतर्फको देखिने चिनारी रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको भ्रमणका बेला दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो ।

यसै नाकालाई लक्षित गरेर निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्त्वपूर्ण मानिने दुई ठूला देश चीन र भारत जोड्ने गरी निर्माणाधीन कालीगण्डकी करिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो ।

घाँसादेखि जोमसोम हुँदै कोरलासम्मको सडक कालोपत्रे र ग्राभेलसहित स्तरोन्नतिको काम अन्तिम चरणमा पुगे पनि बेनीदेखि घाँसा खण्डमा निर्माण व्यवसायीको ढिलासुस्ती र बाढी, पहिरो तथा नदी कटानको कारण कालोपत्रेको काम प्रभावित भएको छ ।

दुई देशबीचको बहुप्रतिष्ठित कोरला नाका चर्चामा रहँदा परम्परागत रुपमा कोरला नाकामा अर्धवार्षिकरुपमा लाग्दै आएको व्यापार मेलासमेत चार वर्षदेखि बन्द भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । यो वर्ष नाका सञ्चालनको सम्पूर्ण पूर्वाधार निर्माणको काम सकेको चिनियाँ पक्षले व्यापार मेला नगरेर नाका नै खुलाउने इच्छा देखाएको र प्रधानमन्त्रीको भ्रमणका क्रममा समेत यो विषय समावेश हुने खबरले नाका सञ्चालनमा थप प्रगति हुनेमा मुस्ताङवासी विश्वस्त रहेका उहाँको भनाइ छ ।

कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ भने हालै माटो परीक्षणसमेत गरिएको छ । वाणिज्य मन्त्रालयबाट सर्वे र डीपीआरको लागि बजेट विनियोजन भएपछि माटो परीक्षण गरिएको हो ।

माटो परीक्षणको लागि आएको टोलीले गएको असार १५ गतेदेखि कोरला नाकामा पूर्वाधार बनाउने सम्भावित ठाउँको माटो परीक्षण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाकालाई लक्षित गरेर लोमान्थाङमा सीमा प्रहरीचौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि करिब २० किलोमिटरयता नेचुङमा सशस्त्र प्रहरी बलको विओपी पोस्ट स्थापना भइसकेको छ ।