अनियमितताको बिषयमा बोल्दा गल्छीका सुजन निर्घात कुटिए

8553 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ७ असोज –  धादिङको गल्छी गाउँपालिकामा सामुदायिक विद्युतिकरणका नाममा भएको अनियमितताबारे चासो राख्ने एक युवक माथि निर्घात कुटपिट भएको छ ।

गल्छी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का गाउँबस्तीमा सामुदायिक बिद्युत्तीकरण गर्नका लागि भनेर उठार्ईएको रकम हिनामिना भएको बिषयमा गाउँपालिकाको न्यायिक समितिमा छलफल गरेर बाहिर निस्किएका गल्छी गाउँपालिका–५ सागिनेका सुजन थिङमाथी आईतबार ५ – ३० वजे तिर कुटपिट भएको हो ।

उपभोक्ताहरुसँग रकम उठाएर काम नगरेको आरोप खेपिरहेका श्री रणकालीका सामाजिक सेवा समितिका तत्कालिन अध्यक्ष कुमार भनिने बेदबहादुर भण्डारी समर्थक समूहले अनियमितताको छानविन माग गरेकै कारण आँफु माथि कुटपिट भएको गर्ने  थिङले वताएका छन् ।

भण्डारी अध्यक्ष रहेको समितिले गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का गाउँबस्तीमा सामुदायिक विद्युतिकरण मार्फत बिद्युत्त लाइन वितरण गरिएको क्षेत्रमा मिटर जडानका लागि खरिद गर्न भनेर रकम उठाएर हिनामिना गरेको आरोप लागेको छ ।

समितिले पाँच वर्षअघि ९० घरको मिटरका लागि एक हजार दुई सयका दरले, ११ घरका लागि दुई हजारका दरले र बाँकी चार सय घरको दुई हजार दुई सयका दरले रकम उठाएपनि मिटर उपलब्ध नगराएपछि स्थानीयबासी र समिति बिच विवाद चुलिंदै गएको हो ।

समितिमा अनियमितता भएको भन्दै प्रशासन देखि अख्तियार सम्म उजुरी परेपनि छानविन भई समस्याको समाधान भने हुन नसकेको बिद्युत्तिकरणबाट पिडित गाउँलेहरुको भनाई छ । समितिले अनियमितता गरेको बारेमा सञ्चार माध्यम र न्यायिक समितिमा किन कुरा गरिस भन्दै गाउँपालिका परिसरमै आंफुलाई कुटपिट गरेको सुजनले वताए ।

समितिमा भएको अनियमितता सम्वन्धि समाचार संप्रेषण गर्ने पत्रकार र आवाज उठाउने पीडितहरुमाथी समेत काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दर्ता भएको थिङ बताउँछन ।   अनियमितता ढाकछोप गर्न अनेकन जालझेल गर्दै आईरहेको पक्षले छानविनको आवाज उठाउने स्थानीय र पत्रकारमाथी नै मुद्दा दर्ता गराएर शक्तिको दुरुपयोग गरेको पिडित गाउँलेहरुको भनाई छ ।

लामो समयदेखि कायम रहेको समस्या समाधानका लागि एक साताभित्र सबै कागजातसहित पुनः छलफलमा बस्ने सहमति न्यायीक समितिमा भएपछि छलफलबाट बाहिर निस्किएका थिङलाई गाउँपालिका कार्यालय अगाडी बाटो ढुकेर बसेको समूहले निर्घात कुटपिट गरेको पीडित थिङले बताए । छलफलपछि सबैजना आ–आफ्नो बाटो लागिसकेका थिए, गाउँलेहरु फर्किसकेपछि एक्लै भएको बेला ‘तँ बढी बोलिस भन्दै चार पाँचजना मिलेर मलाई कुटपिट गरे’ पीडित थिङले बताएका छन् ।कुटपिटबाट थिङको शरिरको विभिन्न भागमा चोट लागेको छ ।

कुटपिटबाट घाईते भएका थिङले आईतबारनै इलाका प्रहरी कार्यालय गजुरीमा हेम रिजाल, मधुकर भण्डारी र वेदवहादुर भण्डारीलाई आंफुलाई कुटपिट गरेको भन्दै कारवाहीको लागि उजुरी दिएका छन । घटनाको बिषयमा जानकारी लिन इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक संग मोवाइल नम्बर ९८५१२९८३०० मा कल गर्दा  रिसिभ हुन सकेन ।

कुटपिट पछि घाईते भएका थिङलाई गजुरी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाण्डौंको नेशनल अस्पताल भर्ना गरिएको छ । स्वाश प्रश्वासमा समस्या भईरहेको थिङका आफन्तले वताएका छन ।