प्रेमिकालाई मारेर फरार भएका अरुण ६ बर्ष पछि पक्राउ परे

172 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज धादिङ , साउन ८ – धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा संलग्न भई फरार रहेको भन्दै एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका ९ टायलघर स्थित अँधेरीखोलामा मृत अवस्थामा भेटिएकी मोरङको विराटनगर महानगर–५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्यामा संलग्न भएको अभियोगमा सप्तरीको बोदेबसाइन नगरपालिका ८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तु जैसवारका अनुसार सडेगलेको अवस्थामा भेटिएको शवको पहिचान गरी अनुसन्धान गर्दा ललितको हत्या भएको र हत्यामा उनको प्रेमी अरूण संलग्न भएको त्यतिबेलैको अनसन्धानबाट खुलेको थियो। अरुण संगको प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएपछि विवाहका लागि अनुरोध गर्दा प्रेमीले उनको हत्या गरी फरार रहँदै आएको प्रहरीको दावी छ ।

मृतक ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएकोबारे कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेकी प्रमाण प्रहरीले भेटेको थियो । प्रहरीका अनुसार स्टाफ नर्सको अध्ययन सक्काएर बसेकी ललितालाई कुनै अस्पतालमा काम लगाइदिने भन्दै अरुणले काठमाडौं बोलाएका थिए । ०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए। सडिसकेको अबस्थामा २०७४ साल असोज १२ गते साँझ ललितको शव भेटिएको थियो ।

घटना भएको ६ वर्षपछि २०८० असोज ५ गते अरुण पक्राउ परेका हुन । पक्राउ परेपछि अरुणले प्रहरीसंग ललिताको हत्या गरेको स्वीकार गरेको धादिङका डिएसपी जैसवारले जानकारी दिएका छन् । अरूणले नै ललिताको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेपछि ०७४ पुस २१ गते ललिताको परिवारले उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा किटानी जाहेरी दिएका थिए। प्रहरीको अनुसन्धान चलिरहँदा ०७४ असोज ३१ गते अरूण दुबई गएका थिए । दुबई, मलेसिया लगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरि धादिङ ल्याइएको हो । उनीविरूद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।