अर्थमन्त्रीद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ ।

इजिप्टको शर्मा अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्कको बोर्ड अफ गभर्नसको आठौँ बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुहुँदै डा. महतले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाल जस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठुलो अर्थ राख्ने भएकाले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभएको हो ।

बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताउनुभयो । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लगायतका बहुपक्षीय विकास बैङ्कहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गर्नुभयो ।

न्यून आय भएका मुलुकका लागि आर्थिक पुनः उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग जस्ता माध्यमबाट एआइआइबी लगायतका बहुपक्षीय विकास बैङ्कहरूले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने तथ्य प्रस्तुत गर्नुभयो ।

खासगरी विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नहुने यथार्थ इङ्गित गर्दै अर्थमन्त्री डा. महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको तथ्य औँल्याउनुभयो । उहाँले विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिनका लागि बैङ्कले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्ने आवश्यकता रहेको तर्फ विशेष जोड दिनुभयो ।

कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा समेत उहाँले जोड दिनुभयो । एआइआएबीको आठौँ वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सृजित समस्या सम्बोधनको उच्च आकाङ्क्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्ट वक्ताको रूपमा सहभागी हुनुभयो ।

मन्त्री डा. महतले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको विषयमा फेहरिस्त प्रस्तुत गर्दै सोबाट सृजित समस्या तथा चुनौतीको बारेमा प्रकाश पार्नुभयो । समस्या सृजनामा खासै भूमिका नरहेका नेपालजस्ता विकासशील मुलुकको चुनौती सामनाका लागि बढी कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठुला अर्थतन्त्रले जलवायु परिवर्तनको समस्या सम्बोधनका सम्बन्धमा गरेका प्रतिबद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने तर्फ उहाँले विशेष जोड दिनुभयो ।