सरकारको ध्यान सत्ता टिकाउनेमा केन्द्रित छ: ओली

129 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताउनुभएको छ ।

मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो । मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताउनुभयो ।

नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको अध्यक्ष ओलीको भनाई थियो । उहाँले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएपनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको पनि बताउनुभयो । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिएपनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उहाँले दाबी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिनुभयो । त्यसैगरी उहाँले चर्को ब्याजदर व्यवसायीहरुलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराउनुभयो ।