आन्दोलनरत डाक्टर र सरकारबीच सहमति

133 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आक्रमणमा संलग्नहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ ।

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।

मंगलबार(आज) गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ ।

साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरूलाई ऐन अनुसार नै कारबाही गर्ने सहमति भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।