सुन प्रकरणमा आजदेखि थुनछेक बहस हुने

412 पटक पढिएको

१० आश्विन २०८०, बुधबार ११:४५ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ । यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाण्डौका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले ३ जना फरारसहित २९ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिवादी बनाइएका २९ मध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीन जना फरार छन् । यसअघि ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो।

गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको स्कुटरको ‘ब्रेक शु’ राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यही ’ब्रेक शु’ भित्र ६० किलो सात सय १६ ग्राम बरामद भएको हो ।

प्रहरीले आरोपीमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्रअनुसार उनीहरूले तीन सय ६२ किलो सात सय ७८ ग्राम सुन तस्करी गरेका छन् ।

सबै आरोपीमाथि सुन तस्करी गरेकोमा तीन अर्ब ५० करोड दुई लाख रुपैयाँ, ’ब्रेक प्याड’ को भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख छ ।