नेकपा एसले समाजवादी जागरण अभियान गर्ने

145 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेकपा एसले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । एकीकृत समाजवादीले यहीँ असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो ।

आज पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो ।

असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा हुने बताइएको छ । यस बीचमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताउनुभयो । उहाँले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिनुभयो ।

त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशन अघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको महासचिव भुसालले उल्लेख गर्नुभयो । यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उहाँले बताउनुभयो ।

महासचिव भुसालले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताउनुभयो । उहाँले यस अभियानका क्रममा आफूहरुले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गर्नुभयो ।