प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

103 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो ।

उहाँ स्थानीय समयअनुसार ९ बजेर ४५ मिनेटमा मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । उहाँ दिउँसाे छेन्दु पुग्नुहुने छ । छेन्दुमा रहँदा उहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुुहुने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँले बेलुका चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै बेलुका प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नु हुनेछ ।

बुधवार चीनको छोङछिङबाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले बिहीवार हिजाे कैलाश मानसरोवरको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले बुधवार नै ल्हासामा रहेकाे प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र उहाँको भ्रमण दलका सदस्यहरू शनिवार छेन्दुबाटै काठमाण्डाै फर्किनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ ।

उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन् ।