गठबन्धनको सरकार देशका लागि दुर्भाग्य भएको ओलीको आरोप

104 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलको समर्थनमा बनेको सरकारलाई अपराधी र तस्करलाई संरक्षण गर्ने सरकार भएको आरोप लगाउनुभएको छ । पार्टीको पहिलो प्रदेश महाधिवेशनलाई सम्बोधनका लागि शुक्रबार(आज) विराटनगर पुग्नुभएका अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।
‘गठबन्धन सरकार अपराधी, तस्करको संरक्षकको रुपमा देखिएको र यसले नेपाली जनता र राष्ट्रलाई केही पनि हुन सकेन,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’
अध्यक्ष ओलीले सरकारमा जाने एमालेको चाहना नभएको र अहिलेको सरकारको उपयुक्त विकल्प पनि नदेखिएको बताउनुभएको हो ।
‘देशका प्रमुख पार्टी जिम्मेवार हुँदा अहिलेको सरकारको विकल्प हुन थियो तर त्यो तहमा सोच्ने क्षमता कांग्रेसमा नदेखिएकोले मिसन २०८४ मा लागेको छु,’ उहाँले भन्नुभयो, ‘एमाले र कांग्रेसको सरकार निर्माणका लागि सोच्ने तहमा कांग्रेस नभएको र कांग्रेसमा देशप्रतिको चिन्ता र कांग्रेसभित्र भइरहेको कुरामा गम्भीरता देखिएको छैन । त्यसैले कांग्रेससँग मिलेर सरकार बनाउने र नबनाउने कुरा नै हुँदैन किनकि कांग्रेस अहिले बेग्लै संसारमा छ ।’
अध्यक्ष ओलीले पार्टीको प्रदेश महाधिवेशनमा सके सहमति गर्नु र नसके स्वास्थ्य प्रतिस्पर्धा गर्न नेता, कार्यकर्ता तथा प्रतिनिधिलाई निर्देशन दिएको बताउनुभएको छ। तर सञ्चार क्षेत्रले अहिले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने जबरजस्ती सन्देश दिन खोजेको आरोप समेत लगाउनुभयो ।
कोशी प्रदेशमा स्थिरता आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो । ‘प्रादेशिक हिसाबमा पनि अहिले मध्यावधिमा जानु हुँदैन, त्यो अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘प्रदेशलाई मध्यावधितर्फ धकेल्ने कुरा बुद्धिमानीपूर्ण हुँदैन र धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’