मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’लाई

157 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१४ असोज २०८० 

काठमाडौँ– माओवादी जनयुद्ध’मा नेपाली जनताले भोगेको   द्वन्द्वको अकल्पनीय वर्णनसंघर्ष र द्वन्द्वको कथालाई मुख्य बिषयबस्तु बनाएर लेखिएको विवेक ओझाको ‘ऐँठन’ उपन्यासलाई वि. सं‌ २०७९ को मदन पुरस्कार दिइने भएको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘ऐँठन’ लाई मदन पुरस्कार दिने घोषणा गरेको हो। श्रेष्ठ पाँच सूचीबाट ओझाको ‘ऐँठन’ लाई पुरस्कार दिने घोषणा गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दनमणि दीक्षितले बताए। त्यस्तै गुठीले टेकवीर मुखियालाई जगदम्बाश्री पुरस्कार दिने घोषणा गरेको छ।

यसवर्ष मदन पुरस्कारको श्रेष्ठ सूचीमा पाँचमा कृति छनोट भएका थिए। ओझाको ‘ऐँठन’ सहित सुबिन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ परेको थियो। यसवर्ष मदन पुरस्कारका लागि गुठीलाई कुल ३१३ पुस्तक प्राप्त भएका थिए।

मदन र जगदम्बाश्री दुवै पुरस्कारको राशी चार-चार लाख रहेको छ। २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।