विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने मन्त्रीको घोषणा

132 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गर्नुभएको छ ।

आज सोमवार काठमाण्डौमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरू पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गर्नुभयो । उहाँले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसका लागि विशेष बजेट ल्याउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन् । मैले कसैको कुरा नसुनेर गाउँमा स्वास्थ्यकर्मी पठाइदिएको छु । यो इतिहासमै पहिलो पटक हो नेपालमा । दरबन्दी एक चौथाइ मात्रै छ । चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु । पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भने पनि गर्ने हो । संविधानमा लेखिएजस्तै हामीले काम गर्नुपर्छ । गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु । हामी सुधारको प्रक्रियामा लागेका छौँ ।’