हेटौंडाका निराजन त्रिशूली नदीमा हाम फालेर वेपत्ता

1590 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१६ असोज । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडाका ब्रान्च म्यानेजर निराजन देवकोटा त्रिशूली नदीमा हाम फालेर वेपत्ता भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ३८ वर्षीय  देवकोटा  सोमबार बिहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेड अफिसमा जानको लागि भन्दै काठमाडौं गएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

हेड अफिसमा केही काम रहेको र बैंकले पनि बोलाएको भन्दै मोटरसाइकलमा काठमाडौं  गएका देवकोटा काठमाडौं पुगेर फर्कने क्रममा  सोमबार  साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशीस्थित  नयाँपुलबाट  त्रिशूली नदीमा हाम फालेर वेपत्ता भएका हुन ।

चढेर आएको  बा.प्र.०३-००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलमा छाडेर देवकोटा नदीमा हामफालेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले त्रिशूलीमा हामफालेका निराजनको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जानकारी दिएको छ ।मंगलबार विहानै देखि देवकोटाका आफन्त, परिवारका सदस्य, प्रहरी लगायतको टोलीले उनको खोजी कार्य जारी राखेका छन् । देवकोटा पुल बाट किन हामफाले भन्नेबारेमा केही खुल्न सकेको छैन ।त्रिशूली नदीमा हराईरहेका निराजन बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको छोरा हुन ।