मुक्रापदेवी मावि बोराङका शिक्षकले बैशाख देखिको तलव पाएनन् रुवीभ्याली गाउँपालिकाले असारमा रोक्कागरेको बिद्यालयको बैक खाता अझै सम्म खोलिदिएन

302 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी / १९ असोज,२०८०

रुवीभ्याली -धादिङ । गाउँपालिकाले बिद्यालयको बैंक खाता रोक्का गरिदिएका कारण धादिङको रुवीभ्याली गाउँपालिकाको बोराङमा रहेको मुक्रापदेवी मा वि मा कार्यरत शिक्षकले गएको बैशाखदेखि तलव पाएका छैनन् ।

विद्यालयको नाममा रहेको बैंकखाता स्थानीय सरकारको जिम्मेवारीमा रहेको रुवी भ्याली गाउँपालिकाले बैंकलाई पत्र लेखेर रोक्का गराइदिएपछि शिक्षकहरु तलब खानबाट बञ्चित भएका हुन् ।

बैंक खाता नखुल्दा विद्यालयमा कार्यरत १९ जना शिक्षक कर्मचारीले गएको बैशाख देखि तलव पाउन सकेका छैनन् । दशैँ विदा हुन केही दिन मात्रै बाँकी हुदाँ समेत शिक्षकहरुको तलव खुवाउने बाटो नखुलेपछि शिक्षक कर्मचारी निकै तनावमा परेका छन् ।

गएको असार ६ गते तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नविनकुमार गोलेले रुवी भ्यालीको सेर्तुङमा रहेको ग्लोबल आईएमई बैंकलाई गाउँ शिक्षा समितिको २०८० असार ६ गतेको निर्णय अनुसार भन्दै विद्यालयको बैंक खाता रोक्का गर्न पत्र लेखेका थिए । सोही पत्रका आधारमा बन्द भएको बैंक खाता अझैसम्म नखुल्दा विद्यालयमा कार्यरत १९ जना शिक्षक कर्मचारी बैशाख देखिको तलव पाउनबाट बञ्चित भएका हुन् ।

कुनै जानकारी नदिई विद्यालयको खाता रोक्का गरिदिएको र विद्यालयमा कार्यरत प्राथमिक शिक्षक उत्तमलाल तामाङलाई गाउँपालिकामा श्रोत शिक्षकका रुपमा सरुवा गरेकोले रोकिएको बैंक खाता खुलाउन र काज सरुवा भएका शिक्षकको ठाउँमा अर्को शिक्षकको व्यवस्था गर्न माग राख्दै असार १० गते गाउँपालिकाको १३ औं गाउँसभामा ज्ञापन पत्र बुझाउन गएका वि.व्य.स.का पदाधिकारी  शिक्षक र जनप्रतिनिधिहरुका बिच झडपको स्थिति बनेको थियो ।गाउँसभा स्थलमा तोडफोड समेत भएपछि प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको थियो।

तोडफोडमा संलग्न रहेको आरोप लगाउँदै गाउँपालिकाले मुक्रापदेवी मा वि.व्य.स. अध्यक्ष मनिष तामाङ, प्रधानाध्यापक तिर्थराज सुवेदी र शिक्षक ऋषिराम खनाललाई २०८० भदौ २० गतेको मितिमा पत्रलेखेर पदबाट निलम्बन गरेको जानकारी दिएको थियो । निलम्बन संगै तीनै जना विरुद्ध गाउँपालिकाले जिल्ला अदालत धादिङमा अपराधिक उपद्रव मुद्धा दायर समेत गरेपछि तामाङ, सुवेदी र खनाल न्याय खोज्दै उच्च अदालत पाटन गएका थिए । गाउँपालिकाको उक्त निर्णय विरुद्ध अदालतले भदौ २९ गते अल्पकालिन र असोज १० गते अन्तरिम आदेश जारी गर्दै पालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउन भनेको छ ।

निलम्बन कार्यान्वयन नगर्न र नगराउन गाउँपालिकाका नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि निलम्बित तिनै जना जिम्मेवारीमा फर्किएपनि गाउँपालिकाले विद्यालयको बैंक खाता नखोलिदिएको विद्यालयका प्रधानाध्यापक तिर्थराज सुवेदीले बताए । प्रधानाध्यापकको हैसियतले बैंकलाई विद्यालयको खाताको बारेमा जानकारी माग्दा गाउँपालिकाबाट रोकिएको खाता अर्को पत्र नआएसम्म नखुल्ने लिखित जवाफ बैंकले दिएको प्रअ सुवेदीले जानकारी दिए ।

उच्च अदालत पाटनका इजलास नम्बर ५ का न्यायधिश किरण कुमार पोखरेलको एकल इजलासले भदौ २९ गते विपक्षी रुवी भ्याली गाउँपालिकालाई २०८०/५/२० मा गाउँपालिकाले जारी गरेको चलानी नम्बर १९५ को तिर्थराज सुवेदी, चलानी नम्बर १९६ को ऋषिराम खनाल र चलानी नम्बर १९७ को मनिष तामाङको नाममा जारी गरिएको पत्र अनुसारको निलम्बन कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी भएको थियो । सोही आदेश संगै असोज १० गते पेशी तोकिएको थियो । असोज १० को पेशीमा उच्च अदालत पाटन इजलास नं ३ का न्यायधिशद्धय टेकप्रसाद ढुंगाना गोकर्ण डाँगीको संयुक्त इजलासले भदौ २० को निलम्वन सम्वन्धि पत्रहरु कार्यान्वयन नगर्न नगराउन गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायधिशद्धयको संयुक्त आदेशमा भनिएको छ ‘शिक्षा नियमावली २०५९ को नियम २९ को खण्ड (ङ) अनुकुल नदेखिएको हुँदा सुविधा सन्तलुलनको सिद्धान्त समेतको आधारमा रिट निवेदनको अन्तिम टुंगो नलाग्दा सम्म पत्रहरु कार्यान्वयन भए रिट निवेदकलाई अपूरणिय क्षती समेत हुने स्थिति प्रष्ट रुपमा देखिएकाले सो पत्रहरु कार्यान्वयन नगर्नु नगराउनु भनि विपक्षीहरुका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम अन्तरिमआदेश जारी गरिएको छ ।’

मुक्रापदेवी मा वि प्रतिनिधि सभाका सदस्य एव पूर्वमन्त्री, राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङको गाउँ बोराङमा रहेको बिद्यालय हो । रुवी भ्याली गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठवन्धन विजयी भएको छ । अध्यक्षमा निर्वाचित रामसिह तामाङ माओवादी केन्द्रका हुनभने उपाध्यक्ष फेलामा तामाङ नेपाली काँग्रेसका हुन् । विद्यालय व्यवस्थापन समितिमा राप्रपाको वलियो उपस्थिति भएका कारण गाउँपालिकाले विद्यालयलाई राजनैतिक प्रतिशोध राखेर व्यवहार गरेका कारण समस्या भएको स्थानीयको बुझाई छ । रुवी भ्याली धादिङ जिल्लामै राप्रपाको सबैभन्दा राम्रो संगठन भएको क्षेत्र हो । अहिले पनि रुविभ्यालीका बुद्धिमान तामाङ र विना लामा प्रतिनिधि सभा सदस्य र डम्बर तामाङ वागमती प्रदेश सभाको सांसद छन्।

विद्यालयको खाता वन्द गराइराख्नुको कारण जान्न गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष  र प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडालाई  पटक पटक सम्पर्क गर्दा पनि तिनैजनाले कल रिसिभ गरेनन् ।