सरकारले प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस भएन: स्वर्णिम वाग्ले

101 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक-२०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यो विधेयकमा स्रोतको सुनिश्चितता नै नभएको भन्दै विद्यालय शिक्षा विधेयक जनतामा लैजानुपर्ने बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा नियमावलीमा उल्लेख भए अनुसार जनताको प्रतिक्रिया प्राप्त गर्न प्रचार गरियोस् भन्ने प्रावधानलाई कार्यान्वयन गर्न विधेयक जनतामा लैजानुपर्ने बताउनुभयो ।

सांसद वाग्लेले केही हप्तासम्म कुनै एक जना उपसचिवको गोप्य घर्रामा थन्क्याएर राखिएको विधेयक पर्याप्त छलफलमा नगएको बताउनुभयो । उहाँले विधेयकमा सरकारबाट रकम उपलब्ध गराउनुपर्ने भएकोले यसबाट प्रत्येक वर्ष सरकारलाई आर्थिक दायित्व पर्न जाने भन्ने कुरा उल्लेख भएपनि विधेयकमा बजेटको कति प्रतिशत रकम खर्च हुँदैछ ? भन्ने मोटामोटी अनुमान पेस हुनुपर्ने बताउनुभयो । उहाँले संविधानको मूल मर्मलाई नमिचिकन सार्वजनिक शिक्षाको व्यवस्थापनमा राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

सांसद वाग्लेले शैक्षिक केन्द्रहरुको पुनःसंरचना, पाठ्यक्रमको खाका, शिक्षकहरुको जायज समस्यालाई निराकरण, परिक्षा, अभिभावक र समुदायको संलग्नता, तालिम, प्रशिक्षणलाई विधेयकले समेट्नुपर्ने बताउनुभयो ।