विश्वकप छनौट तयारीका लागि संयोजकको जिम्मेवारी उपाध्यक्षखतिवडालाई

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । फिफा विश्वकप छनौटतर्फ पहिलो चरणको छनौट खेल खेल्ने तयारीमा रहेको नेपालले त्यसका लागि आवश्यक तयारी गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका उपाध्यक्ष दिपक खतिवडालाई संयोजकको जिम्मेवारी दिएको छ ।

एन्फाको आकस्मिक बैठकले खतिवडाको संयोजनमा विश्वकप छनौटको आवश्यक तयारी गर्ने निर्णय गरेको हो । स्मरण रहोस, नेपालले विश्वकप छनौट अन्तरगत लाओससँग यही अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा छनौट खेल खेल्दैछ ।

साथै बैठकले विश्वकप छनौटतर्फ १२ अक्टुबरका दिन दशरथ रंगशालामा हुने खेलका लागि टिकटदर पनि निर्धारण गरेको छ । जसअन्तरगत सामान्य पारापिटतर्फ ३०० र भिआईपी पारापिटतर्फ ५०० टिकट मुल्य निर्धारण गरिएको छ ।

साथै टिकट व्यवस्थापन गर्नका लागि एन्फा कै केन्द्रिय सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ तथा प्रवक्ता सुरेश साहलाई जिम्मेवारी दिने निर्णय पनि आकस्मिक बैठकले गरेको छ ।

त्यसवाहेक बैठकले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरन राईको वर्खास्तीबारे आगामी कार्तिक २३ गते हेटौडामा हुने विशेष साधारणसभामा छलफल र निर्णय गर्ने बताइएको छ ।