स्थानीय तहमा संविधानले परिकल्पना गरेअनुसारको अधिकार कार्यान्वयन हुन सकेन: प्रचण्ड

110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा संविधानले परिकल्पना गरेअनुसारको अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

आज शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पनि विभिन्न कोणबाट संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जमर्को भइरहेको बताउनुभयो ।

उहाँले संविधान बनाएर सिंहदरबारको अधिकार जनताको घरदैलोमा र घर गाउँमा भनेपनि सरकारसँगै भ्रष्टाचार बेथिति, विकृति पनि सँगै गएको आरोप लाग्ने गरेको बताउनुभयो । उहाँले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई राम्रोसँग कार्यान्वयन गर्ने काम नभएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संघीयता, गणतन्त्र आएपछि अधिकार सम्पन्न भयौँ र अवस्था फेरियो भन्ने महशुस जनतालाई गराउन नसकेसम्म लोकतन्त्रको औचित्य पुष्टि गर्न नसकिने बताउनुभयो ।