धादिङबेशी सहित जिल्लाको विभिन्न ६ स्थानमा हेल्प डेस्क स्थापना

130 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी सदरमुकाम धादिङबेशी सहित जिल्लाको विभिन्न ६ स्थानमा शनिवार देखि  नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।

दशैं तिहार लगायतका चाडपर्वका बेला यात्रुले कुनै किसिमको सास्ती भोग्नु परेमा तत्काल उनिहरुको सहयोेगका लागि हेल्प डेस्क स्थापना गरिएको हो । चाडपर्व सुरु भएर सवारीको चाप बढेसँगै प्रहरीले पृथ्वी राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको हो। सवारीले यात्रु ओराल्ने चढाउने र यात्रुको चाप बढी हुने स्थानको छनोट गरी राजमार्गको पाँच ठाउँमा र सदरमुकाम धादिङवेसीको पुछार बजारमा सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

यात्रुको गुनासो सुन्ने द्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । “समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले समस्या पर्दा प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो”, गौतमले भन्नुभयो, “यात्रा गरिरहँदा चोरी भएमा, सवारी साधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गर्नेजस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षाले सहयोग पुर्‍याउनेछ ।”

पृथ्वी राजमार्गको महादेववेसी, गल्छी, गजुरी, जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको र यात्रुलाई ठगिनबाट जोगाउने पनि यसको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय धादिङले दसैँ–तिहार विशेष सुरक्षा योजना शनिबारदेखि लागू गराइएको छ । चार्डपर्वको बेलामा हुनसक्ने झैझगडा, चोरी, जुवातास लगायतका घटना हुन नदिन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको हो । सुरक्षा सतर्कताको लागि धादिङमा प्रदेश प्रहरी कार्यालयबाट ६५ प्रहरी थप गरी परिचालन गरिने प्रहरी उपरीक्षक मिश्रले  जानकारी दिनुभयो ।

शनिबार धादिङबेशीस्थित पुछारबजार अस्थायी प्रहरी पोष्टमा स्थापना गरिएको हेल्प डेस्कको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शुभारम्भ गर्नु भएको थियो ।