१९औँ एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाईन धादिङकी एरिका गुरुङले

266 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ- १९औँ एसियाली खेलकुदमा नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ ।

१९औं एसियाडमा नेपालकी कराते खेलाडी धादिङको नीलकण्ठ नगरपालिका वडानम्बर १३ लाहुरे गाउँकी  एरिका गुरुङले ऐतिहासिक रजत पदक जित्न सफल भएकी हुन । एरिकाले मनमैजुस्थित निरज महर्जनले सन्चालन गरेको डोजोमा कराँते सिकेकी हुन्। गत नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि उनी राष्ट्रिय टोलीमा परेकी थिइन्। एरिकाको यो केवल दोस्रो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता हो।सन २०१४ मा विमला तामाङले एसियाडमा करातेबाटै कास्य पदक जितेकी थिइन् । एसियाडमा करातेबाट देशलाई पदक दिलाउने दुबै जना खेलाडी धादिङका हुन ।

नेपालले १९ औं एसियन गेम्सको समापन समारोहको अघिल्लो दिन कराँतेबाट फाइनल खेल्यो । उपाधि भिडन्तमा नेपाल हारेपनि एरिका गुरुङले कराँतेका लागि रजत पदक हात पारिन् ।

शनिबार कराँतेको ६८ केजीमाथिको तौल समूहको फाइनल खेल्दै एरिकाले कराँतेमा  व्यक्तिगत स्पर्धामा रजत पदक जितेर नेपालको शान  चम्काएकी छिन् ।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् । यसअघि सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।

क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् । योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।