धादिङको सिम्लेमा मृत भेटिएकी दोलखाको सोनाको मृत्यु अझै रहस्यमय सोनाका केटा साथी भुवनविरुद्ध ज्यान मुद्दामा अनुसन्धान

228 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे -गएको असोज २ गते धादिङको थांक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेस्थित द क्लिफ साइट रिसोर्टमा मृत अवस्थामा भेटिएकी दोलखा कालिन्चोक गाउँपालिका– ८ की २५ वर्षीया सोना सिवाकोटीको मृत्युको रहस्य अझै सम्म खुल्न सकेको छैन । सिवाकोटीको मृत्युको रहस्य गहिरिंदै गईरहेको भएपनि प्रहरीले उनको केटा साथी भुवन श्रेष्ठ विरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत  अनुसन्धान गरिरहेको छ।

केटा साथी भुवनसंगै रिसोर्टस्थित कोठामा बसेकी २५ वर्षीया सोना गत २ असोजमा रिसोर्टको एट्याच बाथरुममा मृत अवस्थामा फेला परेकी थिइन् ।

जानकारहरुका अनुसार भुवन र सोना करिब ६ महिनादेखि सम्बन्धमा थिए। यस बिचमा उनिहरु बिच नियमित भेटघाट मात्रै होइन शारीरिक सम्पर्क समेत हुने गरेको तथ्य बाहिर आएको छ । भुवन विरुद्ध सोनाका परिवारले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा उनीविरुद्ध म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक गोविन्द शाह बताउँछन् ।

उनले भने, ‘गत २ असोजमा सोना रिसोर्टमा रहेको रुमको बाथरुममा मृत अवस्थामा भेटिइन्। घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार श्रेष्ठले धादिङको गजुरीमा नृत्य प्रशिक्षक भई डान्स इन्स्टिच्युट चलाइरहेका थिए जहाँ सोना पनि ६–७ महिनादेखि नृत्य सिकिरहेकी थिइन्।

गजुरीस्थित नाडेप लघुबित्तमा काम गर्दै आएकी सोनासँग श्रेष्ठ नजिकिएका थिए। सोही क्रममा उनीहरू गत २ असोजमा छुट्टी मनाउन रिसोर्ट गएका थिए। पोस्टमार्टम रिपोर्टमा भने सोनाले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ।