दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआरधना गरिँदै
101 पटक पढिएको
काठमाडौं। बडादशैंको तेस्रो दिन आज माता दुर्गाको तेस्रो शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआरधना गरी मनाईँदैछ। यी देवीको १० वटा हात र १० हातमा खड्ग,वाण आदि शस्त्र,अस्त्र हुने विश्वास गरिन्छ।
चन्द्रघण्टा देवीको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टा देवी भनेर चिनिएको हो । माता दुर्गाका नौवटा रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
घटस्थापनाका दिनदेखि बडादशैं शुरु हुन्छ । घटस्थापनादेखि नवमीको दिनसम्मलाई नवरात्र पनि भन्ने गरिएको छ । घटस्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ।
राजधानी काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा मंगलबार बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।
उपत्यकाबाहिर सुनसरीको धरानस्थित दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यवासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ ।
घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिनुकासाथै दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।