संयुक्त राष्ट्रसङ्घका महासचिवले कात्तिक १४ गते संसदमा सम्बोधन गर्नुहुने

125 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो ।

नेपाल बसाईको क्रममा उहाँले नेपालको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कात्तिक २ गते सङ्घीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीेले जानकारी दिनुभयो ।

उहाँले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई सुरु गरिसकेको पनि बताउनुभयो । महासचिव गुटेरेसले सम्बोधन गर्नुहुने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ ।

प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठक कात्तिक १२ गते बोलाइएको सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने र राष्ट्रिय सभाका लागि सूचना जारी गर्न सकिने बताउनुभयो ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्रसङ्घको महासचिवको रुपमा दोस्रो कार्यकाल हो ।