भुकम्पले खरीमा २० घर भत्कियो, ७५ घर चर्कियो

330 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,५ कात्तिक २०८० । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका ५, कुमालटारी लगायतका गाउँबस्तीमा २० वटा घर भत्किएका छन् । भुइँचालोबाट ७५ घर चर्किएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पूर्व वडाअध्यक्ष काप्रीका अनुसार पटक-पटक चार रेक्टरस्केल भन्दा माथिका परकम्प गएका कारण मानिसहरू घर बाहिर निस्केर बसेका थिए । फेरी भुकम्प जाने डरले मानिसहरु घर भित्र पस्न डराईरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपि गौतम मिश्रका अनुसार चर्किएका घरहरूको विस्तृत विवरण संकलन अझै जारी रहेको छ । धादिङको ज्वालामुखी ५ साविक खरी गाविस केन्द्रबिन्दु भई आईतबार बिहान ७ ३९ मा ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्पपछि लगातार जसो पराकम्प आइरहेकाले सचेत हुन आग्रह गरेका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भुकम्पको केन्द्र विन्दु वनेको खरी क्षेत्रमा भएको क्षतीको आवश्यकताअनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी अवस्था बुझ्न घटनास्थलतर्फ टोली पठाइएको बताएका छन् ।

भूकम्प गएको क्षेत्र गोरखासँग सीमा जोडिएको बूढीगण्डकी नदीको तटिय क्षेत्र हो ।