बार्यन म्युनिखले गलातासारेलाई ३–१ ले हरयो

89 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ह्यारी केन चम्किएको खेलमा बार्यन म्युनिखले गलातासारेलाई ३–१ ले हराएको छ । समूह एमा मंगलबार टर्किस क्लबलाई पाखा लगाउने क्रममा बायर्नका लागि ह्यारी केन नायक बने ।

यसै सिजन बुन्डेसलिगा क्लब आएका केनले एक गोल गर्दै अर्को गोलका लागि अवसर सिर्जना गरिदिएपछि बायर्नले सहज जित निकाल्यो ।

खेलमा अग्रता बायर्नले आठौं मिनेटमा कोम्यानको गोलबाट लिएको थियो । लिरो सानेको पासलाई सदुपयोग गर्दै कोम्यानले बायर्नलाई अघि बढाएका थिए । खेलको ३० औं मिनेटमा मौरो इकार्डीको पेनाल्टी गोलमार्फत गलातासारे खेलमा फर्किएको थियो ।

दोस्रो हाफमा भने पाहुना टोलीले दुई गोल थप्यो । खेलको ७३ औं मिनेटमा केनले गोल गर्दै बायर्नलाई अघि बढाएका थिए । उनै केनको पासलाई सदुपयोग गर्दै ७९ औं मिनेटमा मुसियालाले बायर्नलाई ३–१ को शानदार जित दिलाए ।

समूह एमा बायर्नले सतप्रतिशत जित निकाल्न सफल भएको छ । बायर्नले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । गलातासारे ४ अंक सहित दोस्रो स्थानमा छ ।

मंगलबार रातिनै पहिलो जित दर्ता गरेको म्यानचेस्टर युनाईटेड ३ अंक सहित तेस्रो र एफसी कोपनहेगन १ अंक सहित चौथौं स्थानमा छ ।