धादिङको चिरौंदीमा बस, कार र मोटरसाईकल ठोक्किंदा १२ जना घाइते मोटरसाईकलमा सवार दुईजनाको अबस्था गम्भिर

1112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पृथ्वीराजमार्गको चिरौंदी पुल नजिकै बुधवार दिउँसो भएको दुर्घटनामा परि १२ जना घाईते भएका छन् ।  तीन वटा गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

धादिङबेसीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर त्यही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँको श्रीमती २४ वर्षीया ज्योती पाठक गम्भिर घाईते भएका छन् ।

बसमा सवार काठमाण्डौ चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ निलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जिव प्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका छन् । त्यस्तै धादिङ सिद्वलेख गाउँपालिका–१ का ५५ वर्षीय खुस कुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ नगरपालिका–११ का ४४ वर्षीय राज कुमार श्रेष्ठ, ४३ वर्षीय सोम बहादुर गुरुङ, पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी धादिङकै थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उनको छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका छन् । । तीव्र गतिमा रहेको बस एक्कासी दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरिरका विभिन्न भागमा चोट लागेको प्रत्यक्षदर्शीहरुले वताए ।

सामान्य घाइतेहरुको गल्छीस्थित अम्वि भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई जना र बसमा सवार तीन जनालाई काठमाडौ पठाइएको छ । तीन वटै सवारीसहित बस चालक र कारका चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेमध्ये बा ६० प ४८६९ नम्बरको मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँको श्रीमती २४ वर्षीया ज्योती पाठक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइते १० जनालाई भने स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाण्डौको ट्रमा सेन्टर पठाएको छ ।