धादिङका भलिबल टोलिका कप्तान मनोज मृत भेटिए

326 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ९ कात्तिक  : धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।
  धादिङकै गगांजमुना गाउँपालिका-४ गुम्दी घर भएका श्रेष्ठ बुधबार नलाङको खिर्रेमा तमु युवा समाजद्वारा आयोजित खुल्ला पुरूष भलिबल खेल्न गएका थिए।अघिल्लो दिनमात्रै मनोजले नलाङ खिर्रेमा भएको खुल्ला भलिबल प्रतियोगिता खेलेका थिए। बुधवारको खेल श्रेष्ठ आबद्ध सलाङ-३कै टिमले जितेको थियो ।  साथीहरुसँग छुटेर राति बाहिर निस्किएका उनी विहान झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।आफैले लगाएको टिसर्टको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका मनोजको मृत्यु प्रति धेरैले शंका व्यक्त गरेका छन् ।

बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट इन्स्पेक्टरसहितको टोली घटनास्थलतर्फ पठाइएको डिएसपी जैसवालले बताउनुभयो।

श्रेष्ठकी श्रीमती विदेशमा छिन् । मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले जनाएको छ।

मनोजले केहि बर्ष यता धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी भलिबल खेलहरु खेलि सकेको धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।

उनले विगत २ वर्ष यता जिल्ला बाहिर भएको दर्जनौं प्रतियोगिताहरु समेत खेलिसकेका छन् ।

मनोजकै कप्तानीमा रहेको धादिङ जिल्ला भलिबल टिमले एक हप्ता अघिमात्रै रामेछापमा भएको बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता जितेको थियो भने केही महिना अघि भएको सातौं प्रधानमन्त्री कप एनभिए पुरुष राष्ट्रिय भलिबलको उपाधी मनोज सम्मीलित टिपटप हेल्प नेपालले जितेको थियोे।

श्रेष्ठको निधनले नेपाल भलिबललाई ठुलो क्षति भएको धादिङ भलिबल संघले जनाएको छ।

उनको निधनप्रती हाल धादिङ जिल्लामा भईरहेकाे आज एकदिनकाे भलिबल खेल प्रतियोगिताहरु स्थगित गरि शाेक मनाउन सम्पूर्ण क्लब तथा संघ,संस्था र आयाेजकहरुलाई धादिङ भलिबल संघले अनुरोध गरेको छ।