शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने ग्रहण लागेको बेला के गर्न हुन्छ, के गर्न हुँदैन ?

356 पटक पढिएको

१० कार्तिक २०८०, शुक्रबार ०६:३५ सम्पादक: धादिङ न्यूज

९ कार्तिक २०८०, बिहिबार

धादिङ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पूर्णिमा अर्थात यस बर्षको दशैंको कोजाग्रत पूर्णिमाका दिन कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि शुरू हुने समितिका सदस्यसमेत रहेका धर्मशास्त्रविद् प्राडा. देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ। विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन। आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए। यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए। दिउँसो ४ :१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। गत वर्ष चान्द्रमासअनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।