यूएईले जित्यो त्रिदेशीय टी–२० शृंखलाको उपाधि

145 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि युनाइटेड अरब इमिरेट्स (यूएई)ले जितेको छ।रोमाञ्चक फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधी जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए। मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए। उनी मात्र ७ रनमा आउट भए।

आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए।कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८/३ थियो। कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे। दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे।तर, १३औं ओभरमा दुवै आउट भए ।

रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन्।सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए। करण केसी २३ रनमा अवजित रहे। यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २–२ विकेट रह्यो ।