काठमाडौं उपत्यकामा १०३ घटना, दुईको मृत्यु, र ११८ जना घाइते

119 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यसपालिको दशैँमा तुलनात्मक रुपमा कम घटना भएका छन् । विगतका तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना नभएका काठमाण्डाै उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।

फूलपातीयता आजसम्म केही छिटपुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती तथा दुर्घटना नभएका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दशैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ ।

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारेर निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भन्नुभयो, ‘सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो । अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ ।’

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटपुट घटना भने देखिए । यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रवार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको ज्यान गएकाे छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिनुभयो ।

यसबीचमा २० वटा गाडी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरु ठाेक्किँदा ५१ वटा दुर्घटना भएको थियो । याे दुर्घटनामा ७३ जना घाइते भएका थिए भने एक जनाको ज्यान गएकाे थियाे ।

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ वटा घटनामा एक जनाकाे ज्यान गएकाे छ भने १३ घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जुवातासको खालबाट काठमाण्डाैबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कुल २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट पाँच लाख रुपैयाँ नगद बरामद गरिएको छ ।