कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा केपी ओली सहभागी

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरू सहभागी भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा चलिरहेको कार्यक्रममा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायत सहभागी हुनुभएको छ । त्यस अवसरमा देशमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरूप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथा समयमा यथोचित ढङ्गले दिइनेछ ।’

कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान शुरु गरेको हो ।