परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमणमा जाँदै

118 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आगामी आइतबार अमेरिका भ्रमणमा जाने हुनु भएको छ ।

भ्रमणका क्रममा सोमबार परराष्ट्रमन्त्री साउदले वासिंटनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्री साउदले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर र मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । यस्तै, उहाँले अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारी र अमेरिकी संसद्को नेपाल ककसका उपाध्यक्ष एवं सांसद माइक केरीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी शान्ति संस्थान (यूएसआईपी)मा भेटवार्ता गर्ने, नेपाली–अमेरिकी व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने, सूचना प्रविधि क्षेत्रका विज्ञसँग भेटघाट गर्नुकासाथै गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिंटन डीसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी, एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।