एकै परिवारका सात जनाको सामूहिक आत्महत्या

208 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । परिवारका सात जनाले एकै पटक सामूहिक आत्महत्या गरे भनेको सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ, फिल्मको पर्दामा देखिने यस्तो दृष्य भारतको सुरत शहरमा बास्तविक दृष्यमै देखिएको छ । एकै परिवारका सात जनाको सामूहिक आत्महत्याको खबर सार्वजनिक भएपछि भारतमा मात्रै होइन संसारभर यो घटनाको चासो र चर्चा शुरु भएको छ ।

प्रहरीका अनुसार सुरतमा भएको सामूहिक आत्महत्याको घटनामा एकैसाथ सात जनाको मृत्यु हुनेमा शान्तिलाल सोलंकी र उनकी श्रीमती रीता सोलंकी, उनका छोरी काव्या सोलंकी र दीक्षा सोलंकी, छोरा कुशल सोलंकी,  शान्तिलाल सोलंकीका बुवा कानुभाइ सोलंकी र आमा शिलाबेन रहेका छन् ।

शान्तिलाल सोलंकीले झुण्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । यो घटना भारतको सूरत पालनपुर क्षेत्रमा भएको हो ।

प्रहरीका अनुसार यो घटना शनिबार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन् । घटना अडाजनको पालनपुर पटियास्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो ।

शान्तिलाल सोलंकीले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिएर पछि आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए ।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थल पुगेका थिए । यो घटनाले पालनपुर पटियामा बसोबास गर्ने जनतामा शोकको लहर फैलिएको छ । मृत्युको कारण खुल्नका लागि प्रहरीले शव पोष्टमार्टमका लागि नयाँ सिभिल अस्पतालमा राखेको छ ।

प्रहरी अधिकारीहरूले परिवार र उनीहरूको आर्थिक अवस्थाबारे थप जानकारी लिन छिमेकीहरू र क्षेत्रका अन्य मानिसहरूसँग सोधपुछ गर्न थालेका छन् । यो सामूहिक आत्महत्याको कारण के हो ? भनेर अहिलेसम्म कसैलाई थाहा छैन । तर, आर्थिक समस्या, पारिवारिक विवादलगायत सबै पक्षमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • तस्बिर भारत समाचारबाट