नेपालको सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन राष्ट्र सङ्घका महासचिवले दिए यी तीन सुझाव

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन तीन वटा सुझाव दिनुभएको छ ।

नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्तापछि महासचिव गुटेरेसले सञ्चारकर्मीसँग कुरा गर्दै गुटेरेसले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र सर्वाेच्च अदालतको फैसलाका आधारमा पीडित, तिनका परिवार र समुदायमा शान्ति र न्यायको प्रत्याभूति दिलाउनुपर्ने सुझाव दिनुभयो ।

महासचिव गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताउनुभयो । विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि उहाँले जनाउनुभयो ।

‘नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आउँदा दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्’, उहाँले भन्नुभयो ।

कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।

महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने बताउनुभयो ।

महासचिव गुटेरेसले नेपालमा आफ्नो भ्रमणले राष्ट्र सङ्घ र नेपालबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूले पोखरा र लुम्बिनीको भ्रमण गर्ने जनाउँदै भगवान् गौतम बुद्धले शान्तिका लागि दिएका उपदेश आजको अशान्त र समस्याग्रस्त विश्वका लागि सबैभन्दा धेरै उपयोगी सावित हुने बताउनुभयो । उहाँले नेपालमा अन्तर्राष्ट्रिय सहयोग बढाउन पहल गर्ने विश्वास पनि दिलाउनुभयो ।

‘नेपाल विश्वको मित्र बनेको छ । त्यसैले विश्वका सबै राष्ट्र अब नेपालको अशल मित्र बन्नुपर्छ । आपसमा सहकार्य र सहयोगले त्यो सम्भव हुन सक्नेछ’, गुटेरेसले भन्नुभयो ।

महासचिव गुटेरेसले इजरायल र प्यालेस्टीनबीचको जारी युद्धका सन्दर्भमा कहिल्यै पनि नागरिकको हत्या, अपहरण र यातना दिने काम कुनै पनि हालतमा न्यायिक हुन नसक्ने स्पष्ट गर्दै गाजाको स्थिति झन् खराब हुँदै गइरहेकामा दुःख व्यक्त गर्नुभयो ।

उहाँले इजरायलमा हमासको आक्रमणमा परि मारिएका १० जना नेपालीका परिवारप्रति शोक व्यक्त गर्दै अहिलेसम्म बेपत्ता रहेका विपीन जोशीको सुरक्षित उद्धारको अपेक्षा गर्नुभयो । रासस