सल्यानटारमा कार्तिक १७ गतेदेखि २७ गतेसम्म कृषि प्रदर्शनी तथा व्यापार मेला

171 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१३ कात्तिक । देशभरकै ठूला टारहरु मध्येको भनेर चिनिएको धादिङको सल्यानटारमा पहिलो पटक कृषि प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ को प्रवर्द्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो ।

‘प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला’ नामाकरण गरिएको मेला यही कार्तिक १७ गतेदेखि २७ गतेसम्म हुने मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबाट हुने आयोजकले जनाएको छ ।

मेलाको आकर्षणहरुमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिँचाई, मौरी पालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटलाइजेसनको लागि ‘जियो कृषि एप’को बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ ।

साथै मेलामा व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ । स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिनेछ । मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बालउद्यानसमेत रहने  मेला आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताए । मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने भएको छ ।

मेला स्थलको पूर्वाधार ( स्टल, मञ्च, घेराबार,मेलास्थल) निर्माण कार्य तिव्र गतिमा भईरहेको बताईएको छ ।