अर्थमन्त्री र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता

79 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – अर्थमन्त्री डा प्रकाशशरण महत र बेलायतका ट्रेजरी लर्ड्स मन्त्री बारोनेस पेनबीच लण्डनमा रहेकाे अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।

हिजाे भएकाे भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गर्नुभएको अर्थमन्त्री डा महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो ।

लण्डनमा रहेकाे नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमवार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी हुनुभएको थियो ।

मन्त्री डा महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया शुरु भइसकेको पनि जानकारी दिनुभयो । डोल्मा फाउण्डेशनका टिम गोचर र जापनिज बैंक एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्बरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।