परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको छ ।

यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले भेटमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याउनुभएको थियो ।

मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गर्नुभयो । मन्त्री साउदले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न अनुरोध गर्नुभयो ।

मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताउनुभयो । उहाँहरूबीचको द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताउनुभएको थियो ।

द्विपक्षीय वार्ताका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो । साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन सहभागी हुनुहुन्थ्यो ।  रासस