राष्ट्रिय सभाको निर्वाचन माघ दोस्रो हप्ता गरिने

69 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरेको छ ।

आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।

आज बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिनुभएको हो । उहाँले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताउनुभयो । त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उहाँको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडी बढाउने पनि जानकारी दिनुभयो । त्यस्तै, विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरुको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडी बढेको बताउनुभयो ।