धादिङमा मंसिर २ देखि डीपीएल हुने टिममा राष्ट्रिय खेलाडी पनि राख्न पाईने

113 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,१५ कार्तिक-२०८०। धादिङमा आगामी मंसिर पहिलो साता गाउँपालिका स्तरीय धादिङ प्रिमियर लिग क्रिकेट (डीपीएल) आयोजना हुने भएको छ । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २ देखि ८ गतेसम्म पालिकास्तरीय डीपीएल आयोजना हुने भएको हो ।

संघले विगत दुई वर्ष लगातार जिल्लास्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता संचालन गरेको थियो । यस वर्ष गत प्रतियोगिताहरुमा भन्दा केहि फरक ढंगबाट डीपीएल आयोजना गर्न लागिएको धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेश कडेलले बताएका छन् ।

अध्यक्ष कडेलका अनुसार यो पटक प्रतियोगितामा सहभागि हुने पालिकाले १ जना राष्ट्रिय तथा २ जना प्रदेशस्तरी खेलाडी अनबुन्ध गर्न पाउने छन् । यस्तै पालिकाले आफ्नो टोली तयार गर्दा जिल्ला भित्रका जोकोही खेलाडी समावेश गर्न पाउने छन् ।

विगतका प्रतियोगिताहरुमा सहभागि क्लबले आफ्नो पालिकाका खेलाडी मात्रै राख्न पाउने व्यवस्था थियो । यस प्रतियोगितामा एक पालिकाबाट एक टोली सहभागि हुन पाउने व्यवस्था रहेको छ ।

प्रतियोगितामा कुनै पालिकामा खेलाडी अभाव र कुनैमा बढी भएर खेलबाटै बञ्चित हुनुपर्ने समस्या नहोस् भन्ने हिसाबले जिल्लाका खेलाडीले इच्छाअनुसार जुनसुकै पालिकाबाट खेल्न पाउने व्यवस्था मिलाइएको कडेलले मेरोखेल डटकमलाई बताए । त्यस्तै प्रतियोगितालाई थप स्तरीय बनाउन सहभागि हुने पालिकाले राष्ट्रिय, जिल्ला बाहिर र प्रदेशका खेलाडी समेत राख्न पाईने नियम बनाईएको उनको भनाई छ ।

आईसीसीको नियम अनुसार खेलाईने प्रतियोगितामा कम्तिमा १० टोलीको सहभागिता रहने अनुमान छ । आयोजकका अनुसार जिल्लास्थित विशालटारमा रहेको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितमा यस पटक विगतको प्रतियोगिताको तुलतामा पुरस्कार राशीमा समेत वृद्धि गरिने तयारी रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक मान्यताको पर्खाईमा रहेको धादिङ जिल्ला क्रिकेट संघले पछिल्ला वर्षहरुमा सक्रिय रुपमा क्रिकेटका विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आएको छ । त्यसै सक्रियतालाई निरन्तरता दिदै संघले यस वर्ष पालिकास्तरीय डिपीएल आयोजना गर्न लागेको हो ।

  • मेरो खेलबाट