धादिङका सरकारी कार्यालय परिसरमा रहेका अबैध क्यान्टिन हटाउने जिल्ला प्रशासनको निर्णय प्रशासनको निर्णय कार्यान्वयन हुनेमा आशंका

331 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङका सरकारी कार्यालय परिसर भित्र रहेका कुनै प्रकृया पुरा नगरी निर्वाध रुपमा चलिरहेका खाजा घर ( क्यान्टिन)हरु हटाउन जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ ।

कार्यालयले २०८० कात्तिक १४ गते एक सूचना जारी गर्दै विभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी  प्रकृया पुरा नगरी अबैध रुपमा सञ्चालनमा रहेका खाजाघर, क्यान्टिन, चमेनागृहहरुबाट महंगो मुल्यमा गुणस्तरहिन सामानहरु बिक्री बितरण गर्ने गरेको तथा कार्यालय परिसरमा रहेका त्यस्ता क्यान्टिनहरु आर्थिक चलखेल गर्ने अखडा वनेको जनगुनासो आएको पत्रमा उल्लेख गरेको छ ।

सरकारी कार्यालय परिसरमा रहेका अवैध क्यान्टिनहरु हटाउन कार्यालयले जिल्ला स्थित सम्पूर्ण कार्यालयहरुलाई निर्देशन समेत गरेको छ ।

सरकारी कार्यालय परिसरमा क्यान्टिन, चमेनागृहरु सञ्चालन गर्नु पर्दा प्रकृया पुरा गर्न पत्र मार्फत जानकारी गराईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङको यो परिपत्र लागु हुनेमा धेरैले शंका व्यक्त गरेका छन् । जिल्लाका विभिन्न सरकारी कार्यालय परिसरमा बर्षौ देखि शक्तिको आडमा यस्ता क्यान्टिनहरु निर्वाध रुपमा चल्दै आईरहेका छन् ।

वजारका होटल पसलहरुमा अनुगमन गरेर प्रकृया पुरा नगरेकालाई जरिवाना गराई कारवाही गर्दै आईरहेका सरकारी कार्यालयहरुले भने आफ्नै भवन भित्र रहेका क्यान्टिनको वारेमा चासो नराखेको भन्दै सरकारी कार्यालय परिसरका क्यान्टिनहरु माथि सर्वसाधरणले प्रश्न उठाउँदै आईरहेका थिए । जिल्ला स्थित अधिकांश कार्यालय परिसरमा सम्वन्धित कार्यालयको नाम जोडेर क्यान्टिन सञ्चालन भएका छन भने धेरै जसोले व्यवसाय दर्ता समेत नगरेको आरोप छ ।

सरकारी परिसरमा निर्वाध रुपमा अबैध क्यान्टिन सञ्चालन भएपछि सरकारी परिसर भित्र रहेका सामाजिक संस्था समेत घर सटर भाडामा दिएर नाफा कमाउन लागेका छन् ।