शुरु भो ‘प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला’

595 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ कात्तिक । धादिङको सल्यानटारमा शुक्रवारबाट ‘प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला’ शुरुवात भएको छ । मेलाको उदघाट्न नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले गर्नु भएको हो ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ को प्रवद्र्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा आयोजित मेला यहि कात्तिक २७ गतेसम्म सञ्चालन हुने छ ।

मेलाको उदघाट्न अघि स्थानीय समदायको जातिय पहिरन, झाँकी वाजागाजा, नृत्यहरु सहित प्रदर्शनी गरिएको थियो । दश दिन सम्म चल्ने मेलाको आकर्षणहरुमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिँचाई, मौरी पालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटलाइजेसनको लागि ‘जियो कृषि एप’को बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ ।

साथै मेलामा व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ । स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिनेछ ।

मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बालउद्यानसमेत रहेको मेला आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने भएको छ ।

 मेलामा ९० स्टलहरू रहेको छ । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने  आयोजक समितिले जनाएको छ ।