पार्टी अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको छ: शेरबहादुर देउवा

70 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाग्लुङले आज शुक्रवार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको दाबी गर्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गर्नुभयो ।

देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राख्नुभयो । ‘नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वाभाविक मानेका छौँ’, उहाँले भन्नुभयो, ‘वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्नु पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।’

सभापति देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप बलियो हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद पक्ष रहेको बताउनुभयो । वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप बलियो हुने बताउँदै उहाँले जिल्ला सम्मेलन आयोजना गर्ने बाग्लुङ कांग्रेसलाई धन्यवाद दिनुभयो । उहाँले पछिल्लो समय बाग्लुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो । कांग्रेस विकास र समृद्धिको पक्षमा सधैँ रहने बताउँदै उहाँले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने उल्लेख गर्नुभयो ।

देउवाले बाग्लुङमा कांग्रेसले पालिका र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो । त्यस अवसरमा उहाँले शहीद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार जना नेता तथा कार्यकर्ता सहभागी थिए ।