नेपाली क्रिकेट टोलीले खेल जित्दा घोषणा गरेको पुरस्कार निकासा

139 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । सरकारले विभिन्न समयमा नेपाली क्रिकेट टोलीले खेल जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ ।

तीन वटा प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिनुभएको छ ।

गएको वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कप एसिया क्षेत्र छनोटको उपाधि र एसिया क्लालिफायरका लागि ४६ लाख तथा आईसीसी विश्वकप लिग–२ का लागि ३२ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार निकासा भएको सदस्य–सचिव घिसिङले बताउनुभयो ।

नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कपमा पनि छनोट भएको छ । हिजो भएको टी–२० विश्व प एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएर १० वर्षपछि टी–२० विश्व कपमा छनोट भएको हो ।

नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोली टी–२० विश्व कप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिनुभएको छ ।

उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गर्नुभयो ।